गोताखोरले समेत भेट्टाउन सकेनन् त्रिशूलीमा खसेका बस

सेयर गर्नुहोस्

२८ असार, काठमाडौं ।  शुक्रबार बिहान ३ः३० बजे पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस अझै भेटिन सकेका छैनन् । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले त्रिशूलीमा खसेका दुवै यात्रुबस अझै नभेटिएका हुन् । पहिरोले सोहोरेको स्थानमा बसका टुक्रा, शिशासहित अवशेष भेटिए पनि त्रिशूलीमा खसेर डुबेका दुवै बस र त्यसमा सवार यात्रु पनि भेटिन सकेका छैनन् । बस खस्ने क्रमममा तिनका शिशा र सानातिना भाग भेटिए पनि दुवै बस त्रिशूलीमा पूरै डुबेकाले भेटिएका छैनन् ।

त्रिशूलीमा बाढी आएर पानीको करेन्ट एकदमै कडा भएकाले गोताखोर र अन्य सुरक्षाकर्मीहरूले खोजीमा सकस भोग्नु परेको छ । बसको खोजीमा नेपाली सेनाको गोताखोर टोली, सशस्त्र प्रहरीको गोताखोर टोली परिचालित छन् । उनीहरूले मोटरबोट र र्‍याफ्टबोटसहित खोजी गर्दा पनि बसको एकीन स्थान पत्ता नलागेको हो । खोजीका क्रममा एउटा हुक त्रिशूलीको सतहमा अड्किए पनि पानी धमिलो भएकाले बस या अरुको भाग भन्ने खुल्न सकेको छैन । बिहानभरी खोज्दा पनि नभेटिएपछि अहिले सुरक्षाकर्मीहरू नयाँ उपायको खोजीमा लागेका छन् ।

घटनास्थलमा तीनै निकायका २ सय जनाको सुरक्षा फौज परिचालित छन् । काठमाडौँबाट गौर गइरहेको गणपति डिलक्सको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर परिचालित छन् । चितवनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै बसमा चालकसहित ६५ जना सवार रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *