थाइल्यान्डमा विमान दुर्घटना हुँदा नौजनाको मृत्यु

सेयर गर्नुहोस्

७ भदौ । थाइल्यान्डको राजधानी बैंककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जंगलमा खस्दा नौजनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन्। विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जंगलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन्। दुई पाइलट तथा सातजना यात्रुसहित नौजना सवार जहाज बैंककको सुवर्णभूमि विमानस्थलबाट थाइल्यान्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको हो। दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबैको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङले घटनास्थलमा पत्रकारहरूलाई जानकारी दिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा दुई बालबालिकासहित चार थाई र पाँच चिनियाँ नागरिक थिए। दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३०० भन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्। खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अंग तथा विमानका टुक्राहरू फेला पारेको अधिकारीहरूले बताएका छन्। भारी वर्षाका कारण खोजीकार्यमा बाधा पुगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *