अमेरिकामा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या

सेयर गर्नुहोस्

१२ भदौ,अमेरिका । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।

त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन । नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष गौतमले बताएका छन् । हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *