इलामको पुवा खोलामा रहेको बेलिब्रिजलाई अन्य जिल्लामा लैजान लागेकोमा सुहाङको आपत्ती

सेयर गर्नुहोस्

२० असोज,काठमाडौँ – इलामको पुवा खोलामा रहेको बेलिब्रिजलाई अन्य जिल्लामा लैजान लागेको भन्दै इलामका प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले आपत्ति जनाएका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा ‘जनचासो र ध्यानाकर्षण’ भन्दै इलामको पुवा खोलामा रहेको बेलिब्रिजलाई कतै स्थान्तरण गरिने समाचारले आफूलाई तानेको बताएका छन् । ‘यस बारेमा आदरणीय स्थानीयवासीहरुले पनि चासो राखेर ध्यानाकर्षण गराउनु भएको छ । यस लगत्तै मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो बेलिब्रिज इलाममै आवश्यक रहेको अनुरोध गरिसकेको छु’, सुहाङले भनेका छन् ।

यस्तै नेम्वाङले रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालाई पनि यसबारे जानकारी गराएको बताएका छन् ।उनले पुवा खोलासँगै माङसेबुङ र देउमाई जोड्ने फाकफोक दोभानमा पनि बेलिब्रीज आवश्यक रहेको बताएका छन् ।

‘यस प्रकारको निर्णय लिनुअघि सम्बन्धित निकायले स्थानीय समस्या र आवश्यकतालाई मध्यनजर गर्नुपर्छ । मलाई विश्वास छ, इलाममै आवश्यक रहेको बेलिब्रिज अन्त कतै लैजान दिइने छैन’, नेम्वाङको विश्वास छ ।

उनले उक्त बेलीव्रिज अन्त कतै लैजान नदिने समेत बताएका छन् । ‘इलाममै अति आवश्यक रहेको पुवा खोलाको बेलिब्रिजलाई अन्त लैजानु गलत हुन्छ । त्यसो गर्न हामी दिँदैनौँ’, नेम्वाङको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *