गौशाला धर्मशाला २१ वर्षपछि मारवाडी सेवा समितिबाट फिर्ताः अब काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने

सेयर गर्नुहोस्

२२ असोज, काठमाडौं –पशुपतिको गौशाला धर्मशाला अब काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भएको छ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशाला व्यवस्थापन जिम्मा पशुपति विकास कोषले महानगरलाई दिने भएको हो ।

महानगरपालिका– वडा नं ८ का अध्यक्ष समेत रहेका पर्यटन तथा सम्पदा समिति संयोजक आशमान संगतले महानगरपालिकालाई सञ्चालन गर्न पत्र प्राप्त भएको बताए ।आइतबार पशुपति विकास कोष सञ्चालक परिषद्‍ बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न पाउने निर्णय गरेपछि सोही दिन कोषले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झौताका लागि पत्राचार गरेको थियो ।

श्री पशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक कार्य प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो ।सम्झौतापत्रमा सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँ तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र पशुपतिनाथमा पर्व–पर्वमा छाडिएका साँढेहरूलाई परम्परा अनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख छ ।तर, मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट र डायलासिस सेन्टर समेत सञ्चालन गरिरहेको छ । समितिले व्यावसायिक प्रयोजनकै लागि दूध उत्पादन गर्न जर्सी गाई पालेर दूध समेत बेच्ने गरेको छ । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटै सटर मासिक ३५ हजार रुपैयाँसम्ममा भाडामा लगाएको छ ।

सम्झौतापत्रमा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिव भगवान अग्रवालले हस्ताक्षर गरेका थिए ।सम्झौता हुँदा कोषका सदस्य सचिव वसन्त चौधरी थिए । मारवाडी सेवा समितिमा समेत सक्रिय रहेका चौधरीले स्वार्थ बाझिने गरी सम्झौता गराएको आरोप लागेको थियो ।सम्झौता अनुसार समितिले अहिले पनि वार्षिक ५१ हजार रुपैयाँ पशुपति क्षेत्र विकास कोषलाई बुझाउँदै आएको छ । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो ।तर, सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छाड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *