१ कात्तिक, काठमाडौं – दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ ।
अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनिय र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ ।उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् ।
पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्कीले बताए । ‘पहिलो खेल नै भारत र पाकिस्तानको बीच छ । यो भन्दा राम्रो के होला । हामी दबाबभन्दा भन्दा पनि इन्जोए गरेर खेल्छौं,’ उनले भने ।रिज्कीले गत वर्ष पाकिस्तानले राम्रो खेलहरु खेलेको र ठूला टिमविरुद्ध खेल्न अझ धेरै उत्साहित रहेको बताए । उनले नादिया खान चोटबाट निको भएर फर्कुन राम्रो रहेको बताए ।
पाकिस्तानकी कप्तान मारिया खानले च्याम्पियनसिप खेल्न आफूहरु उत्साहित रहेको बताएकी छिन् ।