प्रतिपक्षी दलहरूले सरकारलाई ज्ञापन पत्र पेस गर्ने

सेयर गर्नुहोस्

२ कार्तिक,काठमाडौं- शुक्रबार प्रतिपक्षी दलहरूको बैठक बसेको छ।नयाँ बानेश्वरमा बसेको बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको हो। बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी रहेका थिए।

बैठकले सरकारलाई कात्तिक ५ गते ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।बाढीपहिरो प्रभावितलाई सरकारले उचित राहत दिन नसकेको पनि उनीहरूको निष्कर्ष छ।माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतकाअनुसार अहिलेको सरकार जनसरोकारका विषयमाभन्दा पनि पार्टीगत स्वार्थमा अल्झिएको महसुस भएको छ।

‘बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम गरेन,’ उपमहासचिव बस्नेतले भने, ‘आज यसबारे पनि समीक्षा भयो। सरकार उदासीन छ र जनताप्रति जवाफदेही भइराखेको छैन। जनताका सरोकारका विषय सम्बोधन गर्नेतिरभन्दा सरकार पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढेको देखिएको छ। यी सबै कुरालाई ध्यानमा राखेर प्रतिपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापन पत्र पेस गर्ने भन्ने भएको छ।’

उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने परिस्थिति पनि आउन सक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *