छविलाल जोशीको आज रुपन्देहीमा बयान लिइँदै छ ।

सेयर गर्नुहोस्

६ कार्तिक,काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारीको निक्षेप अपचलन सम्बन्धी बयानका लागि गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको आज(मंगलबार) रुपन्देहीमा बयान लिइँदै छ ।

पूर्वडिआइजी समेत रहेका जोशीलाई पोखराबाट हवाई जहाजमार्फत रूपन्देही ल्याएर सोमबार नै बयान सुरू गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालले सम्भवतःमंगलबार जोशीको बयान सकेर पोखरा नै पठाउन सकिने जानकारी दिइन् । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।प्रतिनिधिसभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौँबाट पक्राउ परेका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप छ । संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *