रुपन्देही जिल्ला अदालत अगाडि सुप्रिम सहकारीका पीडितहरूद्धारा प्रदर्शन

सेयर गर्नुहोस्

६ कार्तिक,काठमडौं- रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले भैरहवामा प्रदर्शन गरेका छन्।

सुप्रिम सहकारी बचत ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबार बिहानदेखि बयान भइरहेको छ।

उक्त बयान भइरहँदा सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालतअगाडि प्रदर्शन गरेका हुन्। सहकारी ठगी प्रकरणमा गत असोज ६ गते पक्राउ गरी पोखरा लगिएका जोशीलाई बयानको लागि सोमबार बुटवल ल्याइएको थियो।

जोशीसँग मंगलबार बिहानदेखि बयान सुरू हुने थाहा पाएका सहकारी पीडितहरूले मंगलबार बिहान ११ बजेदेखि अदालत अगाडि प्रदर्शन गरेका हुन्। सुप्रिम सहकारी पीडित संघर्ष समितिमार्फत् विरोध प्रदर्शन गरिएको हो।

उनीहरुले सुप्रिम सहकारीको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका संरक्षक गितेन्द्रबाबु राई (जीवी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन्।

सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने यसअघि नै पक्राउ परि पुर्पक्षका लागि जिल्ला कारागार भैरहवा चलान भईसकेका छन्। अदालतअघि विरोध प्रदर्शन गरिरहेका पीडित सरकारी वकिल कार्यालयअघि जान खोज्दा प्रहरीले रोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *