आन्दोलनमा पोखरेलीको उत्साहजनक साथ नपाएपछि रास्वपाले घरदैलो चाहार्न थाल्यो

सेयर गर्नुहोस्

७ कार्तिक,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को देशभरको शक्ति अहिले पोखरा केन्द्रित छ ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेपछि देशभरबाट रास्वपा नेता कार्यकर्ता पोखरा ओर्लिएका हुन् ।

लामीछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइयो । शनिबार बिहानदेखि नै रविको बचाउमा समर्थकले आन्दोलन चकाइरहेका छन् । तर, आन्दोलनमा पोखरेलीको उत्साहजनक साथ नपाएको रास्वपाले नेतालाई घरदैलो चाहार्न खटाएको छ ।

बुधबार बिहानैदेखि पार्टी उपसभापति स्वर्णीम वाग्ले पोखराको मासबार क्षेत्रमा घरदैलो गरिरहेका छन् । कार्यवहाक प्रवक्ता मनिष झाले छोरेपाटन क्षेत्रका घरदैलोमा पुगेर पोखरेलीको साथ मागेको बताए ।

मंगलबार पनि उनीहरुले पोखराका विभिन्न स्थानमा पुगेर घरदैलो चाहारे । केन्द्रीय सदस्य डा. तोसिमा कार्की र रमेश प्रसाईं सराङकोट पुगे भने हरि ढकालले बिरौटा क्षेत्रमा डुलेका थिए । रास्वपाले १० समूह बनाएर घरदैलो गरेको हो ।

आन्दोलनमा सहभागी हुन अनुरोध गर्दै घरदैलो गरेको प्रवक्ता झाको भनाइ छ । ‘मान्छेहरुलाई अरु-अरु पार्टीले विभिन्न किसिमका भ्रमहरु छरिराछन् । त्यसलाई हामीले यर्थाथ यो हो है । हामी हाम्रो नेतालाई छुटाउन आको होइन । शुसासन, निष्पक्ष कानुनी प्रक्रिया, भ्रष्टाचार विरोध कुराका लागि आएका हौं भनेका छौं’, उनले भने । उनले सबै नेता फरक फरक क्षेत्रमा खटिएको जानकारी दिए ।

यता, सहकारीका पीडित बचतकर्ताले भने रास्वपाका नेता घरदैलोमा आएर धम्काउने र प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *