रास्वपालेअब पोखरा केन्द्रित आन्दोलन रोकेर काठमाडौंमा प्रदर्शन गर्ने

सेयर गर्नुहोस्

८ कार्तिक,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको आरोप लगाएको छ ।

कास्कीको पोखरामा आज बिहान पत्रकार सम्मेलन गरी पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएको ६ दिन बितिसक्दा ४–५ घण्टामात्रै बयान लिनु यसैको पुष्टि रहेको बताए । उनले कागजात पुगेन भनेर फेरि म्याद थप्न खोजिएको बताए ।

उनले भने, ‘हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा ? देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो । १२५ घण्टामा ४–५ घण्टामात्रै बयान भएको छ । कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ ।’

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई थुनामा राखेको उनको आरोप छ । भ्रष्टाचार गरेको हो भन्ने विषयमा कुनैपनि प्रतिवेदनमा प्रमाणित नभइसकेको अवस्थामा सभापतिलाई पक्राउ गर्नु उचित नभएको पनि बताए ।

उपाध्यक्ष वाग्लेले अब पोखरा केन्द्रित आन्दोलन रोकेर काठमाडौंमा प्रदर्शन गर्ने जानकारी दिए । उनले पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने बताए ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् ।

उनले सहकारी पीडितहरू आफूहरूको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *