एमालेको पार्टी कार्यालयमा खुकुरी खोसाखोस

सेयर गर्नुहोस्

११ कार्तिक, काठमाडौँ – एमालेको पार्टी कार्यालय च्यासलमा शनिबार दुई पक्षबीच खुकुरी खोसाखोस भएको छ।

पार्टी सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकअघि एकअर्कालाई तर्साउनमा खुकुरी झिकिएको हो। महासंघका अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा भोटे पक्षको टकराव शनिबार खुकुरी प्रर्दशन गर्ने तहसम्म पुगेको एक प्रत्यक्षदर्शीले देश सञ्चारलाई जानकारी दिए।

एमालेनिकट जनजाति महासंघमा अध्यक्ष शेर्पा र भोटेबीच विवाद हुँदै आएको छ। केही समयअघि शेर्पा पक्षले महासचिव भोटेलाई कारबारही गर्दै जिम्मेवारीविहीन बनाई पनि उक्त पक्ष आक्रोशित थियो।

शनिबार पार्टी कार्यालयमा बोलाइएको महासंघको बैठकमा जसरीमा पनि पूर्ववत हैसियतमा सहभागी हुने योजनाका साथ भोटे पक्ष पुगेको थियो भने अध्यक्ष शेर्पा पक्ष जसरी पनि रोक्ने योजनाका साथ प्रस्तुत हुँदा अप्रिय घटना हुन पुगेको हो।

भोटे पक्ष बैठकमा सहभागी हुन तयारीका साथ आएपछि अध्यक्ष शेर्पाको गाडीबाट खुकुरी निकालेर अर्को पक्षलाई देखाइएको थियो।

त्यसैक्रममा दुई पक्षबीच निक्कैबेरसम्म पार्टी कार्यालय परिसरमा खुकुरी खोसाखोससमेत भएको थियो। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसमेत सहभागी हुने गरी बोलाइएको बैठकअघि नै दुई पक्ष भिडन्तमा उत्रेका थिए।

ओली पुगेपछि बैठक औपचारिक रुपमा सुरु भए पनि कुनै निर्णय नै नगरी सकिएको थियो। बैठक सुरु गर्दै ओलीले दुवै पक्षलाई समझदारीका साथ अघि बढ्न र शनिबार कुनै निर्णय नगर्न निर्देशन दिएका थिए। महासंघका एक नेताका अनुसार ओली आइतबार साँझ दुवै पक्षका नेताहरुलाई छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *