२१ कार्तिक, काठमाडौँ – ज्यान मार्ने उद्योगमा राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।
गण्डकी प्रदेशसभा नियमावलीअनुसार कुनै सदस्य फौजदारी अभियोगमा दोषी ठहर कैदमा बस्नुपर्ने अवधिभर स्वतः निलम्बन हुने व्यवस्था छ।
उच्च अदालत पाटनको फैसला सदर भएपछि उनी ५ वर्ष जेल बस्नुपर्ने भएको छ। प्रदेशसभा नियमावलीको नियम २२१ अनुसार गुरुङले पाँच वर्ष जेल सजाय भुक्तान गर्दा प्रदेशसभाको कार्यकाल नै सकिने भएको छ। ५ वर्ष कार्यकाल भएको प्रदेशसभाको चुनाव भएको २ वर्ष मात्रै भएको छ।
नियम २२१ (४) मा भनिएको छ, ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परी कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ।’
मंगलबार सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्चको फैसलालाई सदर गरेको हो।
मनाङेको समूहले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो।
गुण्डागर्दी पृष्ठभूमिका मनाङेले गत निर्वाचनमा मनाङ (ख) बाट गण्डकी प्रदेश सभामा सर्वसम्मत निर्वाचित भएका थिए। उनले २०७४ मा पनि मनाङ (ख) बाट निर्वाचित हुँदै संसदीय यात्रामा डेब्यु गरेका हुन्।
उनी गण्डकी प्रदेश सरकारमा छैठौं पटकसम्म मन्त्री भएर रेकर्ड बनाएका छन्। पछिल्लो पटक भदौ १७ मा गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै मनाङेले राजीनामा दिएका हुन्।उनलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट वन मन्त्रालयमा सारेपछि असन्तृष्ट बन्दै राजीनामा दिएका थिए।