दीपक मनाङेको विज्ञप्ति “सर्वोच्चको फैसलाको पूर्ण पाठ आएपछि आफै अदालत उपस्थित हुनेछु”

सेयर गर्नुहोस्

२२ कार्तिक,काटमाडौं- गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्चको फैसलाको पूर्ण पाठ आएपछि आफै अदालत उपस्थित हुने बताएका छन्। शुक्रबार प्रेस वक्तव्य जारी गर्दै मनाङले आफू सम्पर्कविहीन भएको भनेर सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको बताएका हुन्। 

कात्तिक २० गते सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियाे। न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गरेको हो। मनाङेको समूहले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। त्यही मुद्दामा उच्च अदालत पाटनले ५ वर्ष कैद तोकेको थियो। सर्वोच्चको फैसलापछि उनी सम्पर्कविहीन छन्। मनाङेले विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टिकाटिप्पणी प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 

‘सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानून व्यवसायमार्फत थाहा पाएको हुँ। सो पश्चात मेरा कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाए तर, अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’, विज्ञप्तिमा उनले भनेका छन्।उनले लेखेका छन्, ‘फैसला आँउदाको दिनदेखि केही गुणस्तरहित सञ्चार माध्यमहरुबाट तारन्तार आईरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छ । यसमा मेरो आपत्ति छ।’उनले सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा स्वयम् उपस्थित हुने दाबी गरेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *