रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

सेयर गर्नुहोस्

८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई अनुरोध गरेको छ ।

सभामुख देवराज घिमिरेलाई सोमबार सिंहदरवारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले निलम्बन नगर्न आग्रह गरेका हुन् । जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए ।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ । रास्वपा नेताहरुले कांग्रेसका तत्कालीन सांसद टेकबहादुर गुरुङको मुद्दाको उदाहरण दिँदै रविलाई निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । विशेष अदालतले गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उनी संसदबाट निलम्वित भएको सूचना जारी गरेको थियो । तर सर्वोच्च अदालतले निलम्बन गर्न नमिल्ने फैसला गरेपछि उनी सांसद पदमा बहाल छन् । न्यायाधीशहरु डा। मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङको निलम्बन संविधान र कानूनसम्मत नभएको ठहर गरेको थियो । सर्वोच्चको यो फैसला विवादित भएको थियो । रवि २ कात्तिकमा पक्राउ परेको र आइतबार मुद्दा दर्ता भएको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख घिमिरेलाई जानकारी गराइसकेको छ । प्रतिनिधि सभा सदस्य नियमावलीमा प्रचलित ऐनमा अन्यथा लेखिए बाहेक कुनै पनि कसुरमा पक्राउ परेको प्रतिनिधि सभा सदस्य पुर्पक्षका लागि थुनामा गएको अवस्थामा निलम्बनमा पर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *