भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा गएराति उपचारकोक्रममा निधन भएको भारतीय सञ्चामाध्यमले उल्लेख गरेका छन् । सिंहको भारतीय समयअनुसार बिहीबार राति करिब पौने १० बजे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज ९एम्स० मा निधन भएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ। सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए । पूर्व अर्थमन्त्रीसमेत रहेका सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ ।मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए। उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए। सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन ९युपिए० अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए। मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एक गाउँमा भएको थियो।
सिंहको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक घोषणा गरेको छ। आजका लागि तय भएका सम्पूर्ण सरकारी समारोह रद्द गरिएका छन्। उनको अन्तिम संस्कार शनिबार राजकीय सम्मानका साथ गरिने भएको छ। थुप्रै राज्य सरकारहरुले पनि सिंहको निधनमा शोक घोषणा गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले उनको निधनमा शोक व्यक्त गरेका छन्।