काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको जिकिर गरे ।
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि नहुने उनको भनाइ थियो ।उनले कोटेश्वरमा पहिलोपटक महोत्सव भएकोमा खुसी व्यक्त गर्दै यहाँको छुट्टै पहिचान झल्कनेगरी काम गर्न व्यवसायीलाई आग्रह गरे ।
महानगरपालिकाका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ । जसमध्ये २१ रोपनीको मुआब्जा बितरण भइसकेको छ । सरकारले मुआब्जाका लागि १५ करोड रुपैयाँ छुट्याएकोमा प्रतिआना ३ लाखका दरले २१ रोपनी ११ आना २ पैसा १ दशमलब ९ दाम जग्गाका धनीलाई १० करोड ८० लाख रुपैयाँ वितरण गरिसकेको छ ।
तर, बाँकी २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन् । उनीहरूले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन् । अहिलेको चलनचल्तीको भाउमा मुआब्जा दिए राज्यलाई दोब्बर व्ययभार पर्ने सरकारी अधिकारीहरू बताउँछन् ।
तिनकुनेको सडक छेउका स्थानीयले पनि मुआब्जाको दाबी गर्दै आएका छन् । सिनामंगलतर्फ र कोटेश्वर तर्फको सडक क्षेत्रको झण्डै ८ रोपनी जग्गामा स्थानीयको मुआब्जा दाबी छ ।
महानगरपालिकाका अधिकारीका अनुसार जग्गाधनीले सडकको बीचबाट २५ मिटर दायाँबायाँको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग गरेका छन् । तर, सडक क्षेत्राधिकार (राइट अफ वे) भित्रको जग्गा पहिल्यै अधिग्रहण गरिसकेकाले त्यसको मुआब्जा दिन नमिल्ने महानगरपालिकाका अधिकारी बताउँछन् ।