त्रिवि मैदान एनपीएलका लागि पूर्ण तयार, आधुनिक रंगशालाले पायो नयाँ पहिचान

17 November, 2025 139 Views
त्रिवि मैदान एनपीएलका लागि पूर्ण तयार, आधुनिक रंगशालाले पायो नयाँ पहिचान
139

काठमाडौँ । देशकै प्रतिष्ठित खेलमञ्च  किर्तिपुरस्थित (त्रिवि) क्रिकेट मैदान अब पूर्णरूपमा रूपान्तरण भई आधुनिक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रंगशालामा निर्माण सम्पन्न भएको छ । यसैबीच आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिगको दोस्रो सस्करण यही पुननिर्मित मैदानबाट औपचारिक यात्रा थाल्दैछ, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण गर्ने निर्णय गरेको थियो। सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइटसहित आवश्यक संरचना निर्माण गर्न र काम सक्न ३ सय दिनको समयसीमा तोकेको थियो। यही समयसीमा र प्राथमिकताका कारण छिटो आयोजना सम्भव भएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले रंगशाला हस्तान्तरण समारोहमा बताए।

नवीन स्वरूपमा पुनर्निर्माण गरिएको त्रिवि मैदानमा अत्याधुनिक इनफिल्ड–आउटफिल्ड सिष्टम, प्रभावकारी ड्रेनेज मेकानिजम, ठूलो क्षमता भएको ग्यालरी, खेलाडी रफरल कक्ष, डिजिटल स्कोरबोर्ड र उच्च गुणस्तरको पिच निर्माण गरिएको छ। रंगशालाभित्रका यी सुविधाले अब कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता सहजै आयोजना गर्न सकिने अवस्था बनेको आयोजकहरूको दाबी छ।

आजबाट सुरु हुने एनपीएलको दोस्रो खेल यही मैदानमा हुने भएकाले त्रिभुवन क्रिकेट रंगशाला फेरि एकपटक सबैको ध्यानको केन्द्र बनेको छ। देशभरका क्रिकेट समर्थक, खेलकर्मी र सरोकारवालामा उत्साह देखिएको छ। लामो समयदेखि खेलका लागि सुविधायुक्त मैदानको अभाव झेलिरहेका क्रिकेटरहरूका लागि त्रिवि मैदानको आधुनिकीकरणले घरेलु क्रिकेटसँगै विदेशी टिम आकर्षित गर्ने सम्भावना पनि बढाएको छ। यसले खेल पर्यटन, क्रिकेट बजार र राष्ट्रिय क्रिकेटको भविष्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने निश्चित देखिएको छ।

आजको उद्घाटनमा जनकपुर बोल्टस र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्। सुरुवाती खेल हेर्न थुप्रै दर्शक त्रिवि मैदानमा उपस्थित हुने अनुमान गरिएको छ। टिकट बुकिङदेखि खेलप्रेमीहरूको उत्साहसम्म राजधानीभर क्रिकेटकै रौनक छाएको स्पष्ट देखिन्छ।

Related Post