युवा अभियानको १२औँ अधिवेशन सम्पन्न, रबेन्द्र बिक्रम शाह कोषाध्यक्ष निर्वाचित

23 November, 2025 551 Views
युवा अभियानको १२औँ अधिवेशन सम्पन्न, रबेन्द्र बिक्रम शाह कोषाध्यक्ष निर्वाचित
551

मंसिर, काठमाडौँ । युवा अभियानको कोषाध्यक्ष पदमा रबेन्द्र बिक्रम शाह निर्वाचित भएका छन् ।  युवा सशक्तिकरण, नेतृत्व विकास र नागरिक सहभागितामा सक्रिय प्रतिष्ठित संस्था युथ इनिसिएटिभ (Youth Initiative – YI) का सदस्यहरूको उपस्थितिमा युवा अभियानको १२औँ अधिवेशन तथा २५औँ साधारण सभा राजधानीमा सफलतापूर्वक सम्पन्न भएको हो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ कार्यसमितिमा अध्यक्षमा योगेश काफ्ले, उपाध्यक्षमा स्वस्तिका सुवेदी, महासचिवमा सुस्मिता यादब, सचिवमा युवराज खड्का र सह–कोषाध्यक्षमा अर्जुन शाह टेलि निर्वाचित भएका छन्। त्यस्तै, कोषाध्यक्ष पदमा रबेन्द्र बिक्रम शाह सर्वसम्मत रूपमा चयन भएका छन्।

नव–निर्वाचित कोषाध्यक्ष रबेन्द्र बिक्रम शाह पछिल्लो एक दशकदेखि युवाक्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। उनले सन् २०१५ मा धनगढी जुनियर जेसिजमार्फत युवा नेतृत्व यात्राको सुरुवात गरेका थिए र २०१७ मा सोही संस्थाको अध्यक्ष भएर नेतृत्व प्रदान गरेका थिए। हाल उनी नेपाल सरकारअन्तर्गत राष्ट्रिय युवा परिषदका केन्द्रीय प्रशिक्षकका रूपमा कार्यरत छन् र देशका ४० भन्दा बढी जिल्लामा युवालाई संसद तथा नेतृत्वसम्बन्धी तालिम प्रदान गरिसकेका छन्। शाह बालाजु जेसिज, लायन्स क्लब, नेपाल युवा परिषद, वर्ल्ड फूड फोरम नेपाल, यूथ एनजिओ फेडेरेशन नेपाललगायत थुप्रै संस्थामा सक्रिय छन्।

सन् १९९९ मा युवाद्वारा स्थापना भएको युथ इनिसिएटिभ (YI) युवाको क्षमता विकास, नेतृत्व निर्माण, लोकतन्त्र, मानवअधिकार र नागरिक सहभागिता प्रवर्द्धनमा समर्पित संस्था हो। २००१ मा काठमाडौंमा दर्ता भई सामाजिक कल्याण परिषद् (SWC) मा आवद्ध यस संस्थाले नेतृत्व विकास तालिम, राजनीतिक सचेतना, नागरिक सहभागिता र अभिमुखीकरण कार्यक्रममार्फत हजारौँ युवालाई सशक्त बनाउँदै आएको छ।

अधिवेशनमा उपस्थित सदस्यहरूले नयाँ नेतृत्व विशेषतः कोषाध्यक्ष शाहको अनुभव, सक्रियता र दृष्टिकोणले आगामी दिनमा युवा अभियानलाई अझ सबल, सक्षम र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।

Related Post