२६ पुस,काठमाडौं-पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी जम्मा गरेर रिहा भएकी छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार पछाईंसँग ३७ लाख रुपैयाँ धरौटी मागेको थियो । तर उनले उक्त धरौटी बुझाउन नसकेपछि बिहीबार कास्की कारागार चलान भएकी थिइन् ।
पछाईंले शुक्रबार जिल्ला अदालत कास्कीमा धरौटी बुझाएसँगै रिहा भएकी जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।पछाईं सूर्यदर्शन सहकारी र गोर्खा मिडिया नेट्वर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को सहयोगीका रुपमा थिइन् ।
यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार छविलला जोशीसहित ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा भएका थिए । तर लीलाले भने धरौटीमा नबुझाउँदा जेल पुगेकी थिइन् ।
लीलामाथि सहकारीका अध्यक्ष जीबीसँग मिलेर ३ करोड रुपैयाँभन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको पाइएको प्रहरीले जनाएको थियो । उनलाई पनि प्रहरीले गत असोज १५ गते पक्राउ गरेको थियो । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा थिइन् ।