०६ माघ,काठमाडौं- कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।
आइतबार जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ ।
जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।