मोरङको सुन्दरहरैंचामा हात्तीको आक्रमणबाट पछिल्लो एक महिनामा तीन जनाको मृत्यु

सेयर गर्नुहोस्

०६ माघ,काठमाडौं- मोरङ एउटा पालिकामा हात्तीको आक्रमणबाट पछिल्लो एक महिनामा तीन जनाको मृत्यु भएको छ ।

सुन्दरहरैंचा नगरपालिका–५, ७ र ८ नम्बर वडामा एक/एक जनाको मृत्यु भएको हो । मृतक तीनै जना जंगलसँग जोडिएको बस्तीका बासिन्दा हुन् ।

प्रहरीका अनुसार शनिबार बिहानपख सुन्दहरैंचा–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

गत पुस १७ गते सुन्दरहरैंचा ५ की चन्द्रकुमारी लिम्बु र ५ पुसमा सुन्दरहरैंचा नगरपालिका ७ की गङ्गा श्रेष्ठको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार शनिबार बिहान उज्यालो नहुँदै बच्चासहित आएको हात्तीले आक्रमण गर्दा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । उनको घर जंगलबाट करिब २० मिटर टाढा छ ।

गत पुस १७ गते  जंगलबाट दाउरा लिएर आउँदै गर्दा सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उनको घरपनि जंगल नजिकै छ । सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

सुन्दरहरैंचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईं हात्तीले बस्न नदिएको बताउँछन् । ‘हात्तीले हैरान दिएको छ, राति सुत्न पाइँदैन, रातभरी फोन आउँछ, साइरन बजाँउन प्रहरी पुग्छन्, कहिलेकाही दमकल नै पठाउन पर्छ,’ उनले भने,‘ यसपालि हात्ती बाँदर जस्ता भए आलु पनि उखालेर खाइदिएको छ ।’

हात्तीले अन्नबाली र घरहरुमा क्षति गरिरहेको बताए । पीडितले उचित क्षतिपूर्ती पनि नपाइरहेको उनले बताए । ‘एक लाख रुपैयाँ क्षति हुँदा माथिबाट १० हजार मात्रै आउँछ, उनले भने, ‘सरकारले क्षतिपूर्तिलाई वैज्ञानिक बनाउनु पर्छ ।’

हात्तीलाई बस्तीमा प्रवेशका लागि रोक्न केन्द्र र प्रदेश सरकारसँग सहयोग मागेको उनले बताए । ‘झापामा फेन्सिङ तारजाली गर्दा हात्ती केही रोकिएका छन्,’ उनले भने,‘ हात्तीलाई रोक्नका लागि केन्द्र सरकारले सहयोग गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *