२३ माघ, काठमाडौं- नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी–२० शृंखलाको पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ ।
कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई बल बाँकी छँदा बिनाविकेट पूरा गर्यो ।
नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १४६ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् ।कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १–१ विकेट लिए ।