अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

सेयर गर्नुहोस्

२५ माघ,काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)माथि प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन्। आईसीसीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वरक्षामन्त्री योभ गालान्टविरुद्ध पक्राउ वारेन्ट जारी गरेपछि ट्रम्पले प्रतिबन्ध लगाउने आदेश जारी गरेका हुन् ।ट्रम्पले आदेशमा भनेका छन्, ‘आईसीसीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ। अमेरिका र इजरायल यस अदालतका सदस्य होइनन् र यसलाई मान्यता पनि दिँदैनन् ।’

उनले आईसीसीका अधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यका साथै अनुसन्धानमा सहयोग गर्ने जो कोहीको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध लगाउने आदेश पनि दिएका छन् ।प्रतिबन्धमा समावेश गरिएका सबैको अमेरिकामा रहेको सबै सम्पत्ति रोक्का गरिनेछ। साथै, उनीहरूलाई अमेरिका जानबाट पनि रोक लगाइनेछ । भिसा दिइने छैन।नेतान्याहू अमेरिका भ्रमणमा छन् । उनले फेब्रुअरी ४ मा ट्रम्पलाई र फेब्रुअरी ६ मा सांसदहरूलाई भेटेका थिए । नोभेम्बर २१ मा आईसीसीले नेतान्याहू र ग्यालान्टविरुद्ध युद्ध अपराध, मानवअधिकार उल्लङ्घन र गाजामा नरसंहारको आरोपमा पक्राउ वारेन्ट जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई पक्राउ गर्ने अधिकार छैन। यसको लागि यो आफ्ना सदस्य देशहरूमा निर्भर छ। यसले यो अदालत स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका देशहरूमा मात्र आफ्नो अधिकार प्रयोग गर्न सक्छ।यसअघि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २०२० मा आईसीसीमाथि प्रतिबन्ध लगाएका थिए।

अन्तर्राष्ट्रिय फौजदारी अदालत अर्थात् आईसीसी १ जुलाई २००२ मा सुरु भएको थियो। यो संस्थाले विश्वभर भइरहेका युद्ध अपराध, नरसंहार र मानवता विरुद्धका अपराधहरूको अनुसन्धान गर्दछ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको मुख्यालय हेगमा छ। रोम सम्झौत अन्तर्गत बेलायत, क्यानडा र जापानसहित १२३ देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतका सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *