२५ माघ,काठमाडौं-हङकङको क्याथे प्यासिफिक एयरलाइन्सका यात्रुलाई त्यहाँकै खानाले ‘फुड पोइजनिङ’ भएको छानबिनबाट पत्ता लागेको छ ।त्यहाँको सेन्टर फर हेल्थ प्रोटेक्सनले पठाएको रिपोर्टमा हङकङ इन्टरनेसनल एयरपोर्टकै खानामा विषाक्तता देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।उक्त खाना हङकङ एयरपोर्ट परिसरमा रहेको क्याथे प्यासेफिक क्याटरिङ सर्भिस लिमिटेडले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौंबाट हङकङका निम्ति गत जनवरी ८ र ९ मा उडान भरेका ४३ यात्रुलाई फुड पोइजनिङ भएको थियो । उडानको दुई दिनसम्म अस्वस्थ भएपछि हङकङकै नर्थ लन्ताउ अस्पतालमा यात्रुको उपचार गरिएको थियो ।एयरलाइन्सले माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको थियो । ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ भनि विज्ञप्तिमा जारी गरेको थियो ।
उक्त घटना पछि हङकङका विज्ञ तथा सांसदहरूले सहरमा सञ्चालित एयरलाइन्सहरूलाई उडानमा दिइने खाना स्वास्थ्य मापदण्डअनुरुप तयार गरिएको सुनिश्चित गर्न आग्रह गर्दै उडानको समयमा खाना दिइनुअघि तापक्रम, ताजापन र गन्ध जाँच गर्न पनि अपील गरेका थिए ।
खाद्य स्वच्छता नियामक निकायको अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसाले घटनाबारे चासो राख्दै इमेल पठाएपछि अनुसन्धानमा सहयोग गरिएको विभागले जनाएको छ ।