२७ माघ,काठमाडौं-नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले जनमत पार्टीसँग एकताबारे बोलेका हुन् ।
‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ’, चौधरीले भनेका थिए । पार्टी एकता टुंगिनेबारे रेशमले बताइरहँदा जनमत पार्टीका सभापति डा.सिके राउत त्यही मञ्चमा थिए ।
मन्तव्यका क्रममा रेशमले जनमतसँग एकता अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे । नेसपा (नयाँ शक्ति), विवेकशील साझा लगायत वैकल्पिक आवाज उठाइरहेका पार्टीहरूसँग एकता गरेर जान सकिने चौधरीले बताएका थिए ।
स्रोतका अनुसार नाउपा र जनमतबीच एकता प्रक्रिया सकारात्मक निष्कर्षमा रहेकाले नै रेशमले त्यस्तो भाषण गरेका हुन् । ‘नाउपा र जनमतले एकता गरेर जाने भन्ने लगभग सहमति जुटेको छ । कुनै प्रतिकुलता आएन भने चाँडै एकता हुन्छ’, ती स्रोतले भन्यो ।
जनमत पार्टीको पर्वी मधेशमा र नाउपाको पश्चिम मधेशमा पकड छ । २०७९ को चुनावमा नवगठित यी दुवै पार्टीले अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा आएका थिए ।
प्रतिनिधिसभामा जनमतसँग ६ सिट र नाउपासँग ४ सिट छ । प्रदेशतर्फ सुदूरपश्चिममा नाउपा र मधेशमा जनमत पार्टीको बलियो उपस्थिति छ ।