काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी यो सुविधा सुरु गरेको हो।
विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार यसअघि सेवाग्राहीले अनलाइनमार्फत आवेदन फाराम भर्ने व्यवस्था मात्रै थियो। अब भने सोही प्रणालीबाट लाइसेन्ससम्बन्धी राजस्वसमेत सहज रूपमा भुक्तानी गर्न सकिनेछ।
उनका अनुसार नयाँ लाइसेन्सका लागि आवेदन दिने तथा लाइसेन्स नवीकरण गर्ने दुवै प्रकारका सेवाग्राहीले शुक्रबारदेखि अनलाइनबाटै राजस्व तिर्न सक्नेछन्। नयाँ व्यवस्थासँगै अब राजस्व बुझाउन बैंक धाउनुपर्ने वा लामो लाइनमा बस्नुपर्ने बाध्यता हट्ने विभागको अपेक्षा छ। यसबाट सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउने विश्वास विभागले लिएको छ। विभागले डिजिटल सेवाको विस्तारसँगै यातायातसम्बन्धी सेवाहरूलाई क्रमशः पूर्ण रूपमा प्रविधिमैत्री बनाउने तयारीसमेत अघि बढाएको जनाएको छ।