बाढी प्रभावित बालबालिका र युवाको अधिकार संरक्षणमा तत्काल कदम चाल्न YOUCAN को आग्रह

बाढी प्रभावित बालबालिका र युवाको अधिकार संरक्षणमा तत्काल कदम चाल्न YOUCAN को आग्रह
77

काठमाडौं । बालबालिका तथा युवाको जलवायु अधिकार एलायन्स नेपाल (YOUCAN) ले रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिका तथा युवाको अधिकार संरक्षणका लागि तत्काल कदम चाल्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

YOUCAN का अनुसार प्रारम्भिक विवरणमा बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित भएका छन्। त्यस्तै, करिब १० हजार विद्यालय उमेरका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको जनाइएको छ।

बाढीका कारण १८ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने थप २० विद्यालयमा क्षति पुगेको YOUCAN ले जनाएको छ। दूषित खानेपानी, सरसफाइको अभाव, विस्थापन तथा अत्यावश्यक सेवामा आएको अवरोधका कारण बालबालिका तथा युवामा रोग, कुपोषण, हिंसा, शोषण र मानसिक तनावको जोखिम बढेको उसको भनाइ छ।

YOUCAN ले आपत्कालीन प्रतिकार्यमा बालबालिका र युवालाई केन्द्रमा राख्दै सुरक्षित खानेपानी, खाद्यान्न, स्वास्थ्य सेवा, शिक्षा, सरसफाइ, मनोसामाजिक सहयोग तथा संरक्षण तत्काल सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरी, क्षतिग्रस्त विद्यालयको शीघ्र पुनःस्थापना, प्रभावकारी बाल संरक्षण संयन्त्र निर्माण, पूर्वसूचना प्रणालीको सुदृढीकरण, जलवायु उत्थानशील पूर्वाधार निर्माण, जोखिममा आधारित भू–उपयोग योजना तथा दीर्घकालीन जलवायु वित्त सुनिश्चित गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

YOUCAN ले बाढीलाई केवल विपद् प्रतिकार्यको विषयका रूपमा मात्र नभई बालबालिका तथा युवाको अधिकार, वातावरणीय अधिकार र जलवायु न्यायसँग जोडिएको विषयका रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।

YOUCAN का राष्ट्रिय संयोजक अमृत देवकोटाले राहतसँगै दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

 

Related Post