बाढीको सुरुवाती दिनदेखि राहतमा खटिँदै पाण्डे, अब उद्धार र पुनर्निर्माणमा जोड

10 September, 2026 344 Views
बाढीको सुरुवाती दिनदेखि राहतमा खटिँदै पाण्डे, अब उद्धार र पुनर्निर्माणमा जोड
344

काठमाडौं । रसुवा र नुवाकोटमा बाढी आएलगत्तै राहत संकलन तथा वितरणमा सक्रिय भएका AYON का उपाध्यक्ष नितिन पाण्डेले अब उद्धार, बेपत्ताको खोजी, पुनर्स्थापना र पुनर्निर्माणमा जोड दिने बताएका छन्।

बाढीबाट प्रभावित परिवारको आवश्यकता पहिचान गर्दै पाण्डेले विभिन्न संघ–संस्था, स्थानीय समुदाय, व्यवसायी तथा सहयोगी व्यक्तिसँग समन्वय गरी राहत अभियान सञ्चालन गर्दै आएका छन्। अभियानअन्तर्गत राहत सामग्री संकलन, ढुवानीदेखि प्रभावित क्षेत्रमा वितरणसम्म उनी स्वयं खटिएका छन्।

उनको पहल तथा समन्वयमा मङ्गलबजार टोल विकास समिति, व्यवसायी तथा अन्य सहयोगी व्यक्तिहरूसँग सहकार्य गरी करिब ९ लाख रुपैयाँ बराबरका राहत सामग्री संकलन गरिएको थियो। लत्ताकपडा, जुत्ता–चप्पल, औषधि, खाद्यान्नलगायतका सामग्री तीन चरणमा रसुवा र नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुर्‍याइएको पाण्डेले जानकारी दिए।

राहत वितरणका क्रममा प्रभावित क्षेत्रमै पुगेर स्थानीय तह, प्रभावित परिवार तथा सामाजिक संस्थासँग समन्वय गरेका पाण्डेले अहिलेको प्राथमिकता राहत वितरणबाट उद्धार तथा खोजी अभियानतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्।

“अहिलेको मुख्य आवश्यकता थप मानवीय क्षति रोक्नु, प्रभावितको जीवन जोगाउनु र बेपत्ताको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउनु हो,” पाण्डेले भने।

उनका अनुसार राहतको तत्कालीन आवश्यकता पूरा गर्ने चरणसँगै अब प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन योजना आवश्यक छ। विशेषगरी प्रभावित परिवारको आवास, जीविकोपार्जन, बालबालिकाको मानसिक स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ छ।

आगामी चरणमा AYON तथा नेपाल युवा संस्था सञ्जालले सरकार, स्थानीय तह, विभिन्न संघ–संस्था र समुदायसँग समन्वय गरी स्वयंसेवक परिचालनमार्फत उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने जनाएको छ।

पाण्डेले विपद्का बेला राहत वितरण गरेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै प्रभावित समुदायको पुनःस्थापनासम्म निरन्तर साथ आवश्यक रहेको बताए।

“विपद्को समयमा फोटो खिचेर फर्किनेभन्दा आवश्यकताको ठाउँ पहिचान गरेर निरन्तर साथ दिनु महत्वपूर्ण हो। राहतदेखि पुनर्निर्माणसम्म युवाहरू जिम्मेवार रूपमा जोडिनुपर्छ,” उनले भने।

Related Post