काठमाडौं । बागलुङ नगरपालिका–२ मा करिब १० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सुविधासम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ ।
उद्यमी दुर्गा कुँवरको लगानीमा स्थापना भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले गरेका हुन् ।
होटलमा १७ वटा वातानुकूलित डिलक्स कोठासहित सभा, सम्मेलन, गोष्ठी तथा विभिन्न समारोह आयोजना गर्न सकिने तीनवटा हल रहेका छन् ।
उद्घाटन समारोहमा अध्यक्ष भण्डारीले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बागलुङमा गुणस्तरीय होटल सेवाको आवश्यकता रहेको बताए । कालिका भगवती मन्दिर, पञ्चकोट, गलकोट र ढोरपाटनजस्ता पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने उनको भनाइ थियो ।
उनले होटल व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउन महासंघले डिजिटल मार्केटिङ, अनलाइन बुकिङ, प्रोपर्टी म्यानेजमेन्ट सिस्टम तथा कृत्रिम बौद्धिकताको प्रयोगलाई प्राथमिकता दिएको जानकारी दिए ।
१० करोडको लगानीमा होटल आँगन सञ्चालनमा आएसँगै बागलुङको पर्यटन पूर्वाधार विस्तार हुनुका साथै जिल्लाको आतिथ्य सेवामा नयाँ विकल्प थपिएको छ ।