काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सुरक्षालाई ध्यानमा राख्दै भारत सरकारले अत्याधुनिक सुरक्षा प्रविधियुक्त मर्सिडिज–मेब्याक एस६५० गार्ड कारको व्यवस्था गरेको छ।
कालो रङको उक्त विलासी बुलेटप्रुफ गाडीमा नेपाल र भारतका राष्ट्रिय झण्डासमेत राखिएको छ। करिब १२ करोड भारतीय रुपैयाँ अर्थात् नेपाली १९ देखि २० करोड रुपैयाँसम्म मूल्य पर्ने अनुमान गरिएको यो गाडी सामान्य विलासी कारभन्दा निकै फरक र उच्च सुरक्षा क्षमतायुक्त छ।
मर्सिडिज–मेब्याक एस६५० गार्डलाई विशेष सुरक्षा प्रयोजनका लागि निर्माण गरिएको हो। यसमा गोली प्रहार तथा विस्फोटबाट जोगाउने विशेष सुरक्षा कवच जडान गरिएको छ। गाडीका झ्याल, ढोका र अन्य संवेदनशील भागमा समेत सुरक्षात्मक संरचना राखिएको हुन्छ।
यसको अर्को विशेषता रन–फ्ल्याट टायर हो। टायरमा गोली लागेर हावा निस्किए पनि निश्चित दूरीसम्म गाडी सञ्चालन गर्न सकिन्छ। त्यस्तै, विषाक्त ग्यास वा रासायनिक आक्रमणको जोखिमबाट जोगिन छुट्टै स्वच्छ हावा आपूर्ति प्रणालीको व्यवस्था गरिएको छ। इन्धन ट्याङ्कीमा समेत विशेष सुरक्षा प्रविधि प्रयोग गरिएको छ।
प्रधानमन्त्रीको सुरक्षाका लागि गाडीको व्यवस्था मात्र गरिएको छैन। भारतीय सुरक्षा निकायले अगुवा तथा पछुवा सुरक्षाकर्मीका सवारी, सडक निगरानी, सुरक्षा टोली परिचालन र कार्यक्रमस्थलको सुरक्षा जाँचलगायतका व्यवस्था पनि मिलाएका छन्।
राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहलाई उपलब्ध गराइएको यो विशेष सुरक्षा सवारीले भारतले उच्चस्तरीय पाहुनाको सुरक्षालाई दिएको प्राथमिकता पनि झल्काएको छ।