काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका लागि भ्रष्टाचारप्रति शून्य सहनशीलता, सार्वजनिक स्रोतसाधनको सदुपयोग र कानुनको शासन अनिवार्य रहेको बताएका छन्।
दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक पदमा रहने व्यक्तिहरूको नैतिक आचरण र जिम्मेवारीबोध पनि सुशासनका महत्वपूर्ण आधार भएको बताएका हुन्।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको त्याग र बलिदानको मूल उद्देश्य नै सुशासन कायम गर्नु र जनताको अपेक्षा पूरा गर्नु रहेको उल्लेख गरे।
‘सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो’, राष्ट्रपति पौडेलले भने।
जनताले राखेको अपेक्षा पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय तहका तीनै सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए। साथै, जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे।
राष्ट्रपति पौडेलले प्रशासकीय भवनलाई केवल भौतिक संरचनाका रूपमा मात्र बुझ्न नहुने बताए। उनका अनुसार यस्तो भवन जनताले सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक हो।
उनले नवनिर्मित भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री हुने विश्वाससमेत व्यक्त गरे।
भवन आधुनिक हुँदैमा मात्रै नागरिकले सहज सेवा पाउन नसक्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुनुपर्नेमा जोड दिए।