भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न नेपाललाई अनुमति, हिउँदमा लोड व्यवस्थापन सहज हुने

भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न नेपाललाई अनुमति, हिउँदमा लोड व्यवस्थापन सहज हुने
42
 

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाटसम्म विद्युत आयात गर्न अनुमति पाएको छ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धी दरमा विद्युत खरिद गर्न अनुमति दिएको हो।

प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत आयात गर्न पाउनेछ। अनुमति अनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा दैनिक १७ घण्टासम्म विद्युत खरिद गर्न सकिनेछ।

कुल ३५० मेगावाटमध्ये कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत आयात गर्न सकिनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भारतबाट विद्युत आयातको अनुमति प्राप्त भएसँगै आगामी हिउँदमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुनेछ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजनाहरू राष्ट्रिय विद्युत प्रणालीबाट विच्छेद भएका छन्। यसले पनि आगामी हिउँदमा विद्युत व्यवस्थापन चुनौतीपूर्ण बनाएको छ।

प्राधिकरणको अनुमानअनुसार पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनभन्दा विद्युत माग बढी हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट विद्युत आयात गर्नुपर्ने देखिएको छ।

त्यस्तै, उच्च माग हुने समयमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत आयात गर्नुपर्ने अनुमान गरिएको छ। पुस र चैतमा भने तुलनात्मक रूपमा कम आयात गरे पुग्ने प्राधिकरणको आकलन छ।

वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाने र आन्तरिक उत्पादन वृद्धि हुने भएकाले विद्युत आयात घटाउँदै निर्यात सुरु गर्न सकिने अपेक्षा गरिएको छ।

यसैबीच, प्राधिकरणले तीनवटा जलविद्युत आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ। उक्त विद्युत पनि १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म निर्यात गर्न सकिनेछ।

 

Related Post