बजारमा महँगी बढ्यो, असारमा मुद्रास्फीति ५.१४ प्रतिशत

26 August, 2026 58 Views
बजारमा महँगी बढ्यो, असारमा मुद्रास्फीति ५.१४ प्रतिशत
58

काठमाडौं । पछिल्लो समय बजारमा वस्तु तथा सेवाको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत मात्रै थियो।

यद्यपि, समग्र आर्थिक वर्ष २०८२/८३ को औसत मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यो दर ४.०६ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार खाद्यभन्दा गैरखाद्य वस्तु तथा सेवा समूहमा मूल्यवृद्धि बढी देखिएको छ। यस समूहको वार्षिक औसत मुद्रास्फीति ४.२१ प्रतिशत पुगेको छ।

विविध वस्तु तथा सेवाको मूल्य १७.६१ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। यस्तै, शिक्षामा ७.०४ प्रतिशत, यातायातमा ५.८० प्रतिशत तथा कपडा र जुत्ताचप्पलमा ५.५६ प्रतिशत मूल्यवृद्धि भएको छ।

खाद्य तथा पेय पदार्थतर्फ घिउ तथा तेलको मूल्य १०.०५ प्रतिशत, फलफूल ७.०९ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको मूल्य ३.२८ प्रतिशतले बढेको छ। तरकारी, मरमसला तथा दाल–गेडागुडीको मूल्य घटेकाले खाद्य समूहको वार्षिक औसत मूल्यवृद्धि १.०४ प्रतिशतमा सीमित भएको छ।

यस्तै, थोक मुद्रास्फीति पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत थोक मुद्रास्फीति ४.२७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३.८४ प्रतिशत थियो। असारमा मात्रै थोक मुद्रास्फीति ६.६७ प्रतिशत पुगेको छ।

प्रदेशगत रूपमा कोशीमा ३.७७ र मधेसमा ३.६५ प्रतिशत वार्षिक औसत मुद्रास्फीति रहेको छ। असारमा मात्रै मधेसमा मूल्यवृद्धि ५.९४ प्रतिशत पुगेको छ भने सुदूरपश्चिममा सबैभन्दा कम २.०५ प्रतिशत रहेको छ।

यस्तै, असारमा नेपालको ५.१४ प्रतिशत मुद्रास्फीति भारतको ४.४५ प्रतिशतभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।