काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुर बस्दै आएका पुस्कर दहाल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दहाललाई कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै ज्यान मार्ने आशयको स्टाटस लेखेका थिए। पोस्टमा प्रहरीलाई समेत ट्याग गरी अपशब्द प्रयोग गरेको बताइएको छ।
पक्राउ परेका दहाललाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि साइबर ब्युरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार दहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको बताइएको छ। तर उनको राजनीतिक आबद्धता र धम्कीको घटनाबीच कुनै प्रत्यक्ष सम्बन्ध रहे–नरहेकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा गरिएको पोस्ट तथा अन्य डिजिटल प्रमाणका आधारमा घटनाको थप अनुसन्धान गरिरहेको छ।