नेपालको बाढी संकटमा भारत, चीन र विश्व बैंकले अघि बढाए सहयोगको हात

26 August, 2026 9 Views
नेपालको बाढी संकटमा भारत, चीन र विश्व बैंकले अघि बढाए सहयोगको हात
9

काठमाडौं । बाढीबाट प्रभावित नेपाललाई उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बाढीको क्षतिको खबर सार्वजनिक भएपछि विश्व बैंकका नेपाल निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गर्दै आपत्कालीन सहयोगका रूपमा विभिन्न स्रोतबाट करिब २५ अर्ब रुपैयाँसम्म उपलब्ध गराउन सकिने जानकारी दिएका छन्।

भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सरकारी अधिकारीसँग समन्वय भइरहेको र भारतीय सहयोग सामग्री बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।

त्यस्तै, चीनले पनि नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने तयारी गरेको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन्।

भारत, चीन र विश्व बैंकबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री वाग्लेले सहयोगको उचित व्यवस्थापन र परिचालनका लागि अन्तरसरकारी समन्वय तथा आवश्यक छलफल भइरहेको बताएका छन्।

यसैबीच, मन्त्रिपरिषद्को बुधबारको बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। उक्त निर्णयसँगै प्रभावित क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग परिचालन गर्ने प्रक्रिया थप सहज भएको छ।

Related Post