त्रिशूली नदीको जलसतहले खतरा तह पार गर्‍यो, देवघाटमा ८ मिटरसम्म पुग्न सक्ने

26 August, 2026 64 Views
त्रिशूली नदीको जलसतहले खतरा तह पार गर्‍यो, देवघाटमा ८ मिटरसम्म पुग्न सक्ने
64

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतहले कालीखोला जलमापन केन्द्रमा खतरा तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार चितवनको देवघाट जलमापन केन्द्रमा अहिले पानीको सतह ४.७६ मिटर रहेको छ। रसुवाबाट आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट पुग्ने अनुमान गरिएको छ।

प्रारम्भिक आकलनअनुसार देवघाटमा पानीको सतह करिब ३ मिटरले बढेर ८ मिटरसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ। यो पछिल्ला दुई–तीन वर्षयताकै ठूलो बाढी हुनसक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार चितवन र नवलपरासी क्षेत्रमा तत्काल ठूलो डुबानको सम्भावना कम रहे पनि नदीको बहाव बढ्ने भएकाले जोखिम कायमै छ।

त्यसैले अर्को सूचना जारी नभएसम्म नदी तथा खोलाको छेउछाउमा रहेका नागरिकलाई सुरक्षित अग्लो स्थानमा रहन र उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप सूचना जारी गरिने जनाएको छ।

Related Post