काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ। राहतका लागि कति रकम उपलब्ध गराउने भन्ने निर्णय गर्न रास्वपाले आकस्मिक बैठक बोलाएको सभापति रवि लामिछानेले संसद्मा जानकारी दिएका छन्।
लामिछानेका अनुसार बैठकले पार्टीका तर्फबाट सरकारलाई आपत्कालीन अवस्थामा कसरी सहयोग गर्ने भन्ने विषयमा पनि निर्णय गर्नेछ। रास्वपाका सांसदहरूले व्यक्तिगत रूपमा छुट्टाछुट्टै सहयोग गर्नुको सट्टा सामूहिक रूपमा सरकारलाई सहयोग गर्ने उनको भनाइ छ।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले बस्ती र बजारसँगै सडक, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको प्रारम्भिक विवरण छ। बाढीका कारण केही व्यक्ति सम्पर्कविहीन रहेको र उद्धार तथा खोजी कार्य जारी रहेको छ।
यसअघि नै रास्वपाकी सांसद समीक्षा बाँस्कोटाले आफ्नो दुई महिनाको तलब तथा भत्ता राष्ट्रिय विपद् कोषमा जम्मा गर्ने घोषणा गरिसकेकी छन्।
रास्वपाले आकस्मिक बैठकबाट थप निर्णय गरेपछि राहत तथा उद्धारमा पार्टीले गर्ने सहयोगबारे स्पष्ट जानकारी सार्वजनिक गर्ने जनाएको छ।