बालेनको भारत भ्रमणअघि एमालेको विस्फोटक टिप्पणी, भन्यो– ‘लम्पसार परेर नफर्कनू

बालेनको भारत भ्रमणअघि एमालेको विस्फोटक टिप्पणी, भन्यो– ‘लम्पसार परेर नफर्कनू
48

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको विषयमा सचेत रहन आग्रह गरेको छ । एमालेले प्रधानमन्त्रीको दुई दिने भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउने अवसर बन्नुपर्ने बताएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणअघि राजनीतिक दल र राष्ट्रपतिसँग आवश्यक छलफल तथा परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनका अनुसार यस्ता महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्नु र राष्ट्रपतिसँग संवाद गर्नु लोकतान्त्रिक अभ्यास तथा संस्थागत मर्यादाका हिसाबले आवश्यक हुन्छ । यसले राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

आचार्यले भ्रमणका क्रममा सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिलाई स्पष्ट रूपमा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘मित्रवत् सम्बन्धलाई सुदृढ बनाउँदै आफ्ना चासो दृढतापूर्वक राख्न सक्नु नै प्रभावकारी कूटनीति हो । देशको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई स्मरण रहोस्,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीलाई लक्षित गर्दै आचार्यले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुपर्ने अवस्था नआओस् भन्दै ‘लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला’ भनेर कडा टिप्पणीसमेत गरेका छन् ।

उनले सरकारका घोषणापत्रमा उल्लेख गरिएका रोजगारी सिर्जना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता भारत भ्रमणमा व्यवहारमै देखिनुपर्ने बताएका छन् । भ्रमण केवल औपचारिक भेटघाट र प्रचारमा सीमित नभई नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस उपलब्धिसहित सम्पन्न हुनुपर्ने एमालेको अपेक्षा छ ।

आचार्यले प्रधानमन्त्री स्वदेश फर्किएपछि भ्रमणका उपलब्धि, भएका छलफल र समझदारीबारे संसद् तथा आमजनतालाई जानकारी गराउनुपर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन् । सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Related Post