काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले नवनियुक्त राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको राहत तथा सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
त्यस अवसरमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे चासो राखेका थिए। जवाफमा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने शाहको भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका छन्।
उनले भ्रमणका प्रमुख एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले आवश्यक तयारी तीव्र पारेको जानकारी दिएका छन्।
भेटमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत सकारात्मक छलफल भएको जनाइएको छ।