काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन उनी बुधबार चीनको शेन्जेन पुगेका हुन्। यस भ्रमणलाई विश्वका तीन शक्तिशाली राष्ट्रका प्रमुखबीच हुन लागेको ऐतिहासिक भेटवार्ताका कारण विशेष चासोका साथ हेरिएको छ।
ट्रम्पलाई शेन्जेन विमानस्थलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वागत गरेका थिए। सन् २०२६ मा ट्रम्पको यो दोस्रो चीन भ्रमण हो। यसअघि गत मे महिनामा उनले बेइजिङको राजकीय भ्रमण गरेका थिए। उक्त भ्रमणमा दुवै नेताले अमेरिका–चीन सम्बन्धलाई रणनीतिक स्थिरतासहित रचनात्मक दिशामा अघि बढाउने सहमति गरेका थिए।
यसपटकको भ्रमणमा ट्रम्प र सीबीच नोभेम्बर १९ मा द्विपक्षीय शिखर वार्ता हुने कार्यक्रम छ। त्यसपछि उनीहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै त्रिपक्षीय बैठकमा सहभागी हुनेछन्। यस वर्ष ट्रम्प र सीबीच हुन लागेको यो तेस्रो शिखर भेट हो। तीन आणविक शक्तिराष्ट्रका प्रमुख एकैपटक एउटै त्रिपक्षीय बैठकमा सहभागी हुन लागेकाले यसलाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
बैठकमा आणविक हतियार न्यूनीकरण, अमेरिका–चीन व्यापार तथा प्रविधि प्रतिस्पर्धा, इरानसँगको द्वन्द्व र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि त्रिपक्षीय वार्ताको विस्तृत कार्यसूची सार्वजनिक भइसकेको छैन।
नोभेम्बर १८ र १९ मा हुने एपेक सम्मेलनमा २१ सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन्। क्षेत्रीय व्यापार, आर्थिक सहकार्य, प्रविधि र लगानी सम्मेलनका मुख्य एजेन्डा रहेका छन्। तर यसपटक आर्थिक मुद्दाभन्दा पनि ट्रम्प, सी र पुटिनबीच हुने उच्चस्तरीय भेटवार्ताले विश्वको ध्यान खिचेको छ।
ट्रम्पको चीन भ्रमण घरेलु राजनीतिक दबाबका बीच भएको हो। करिब दुई साताअघि भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेपछि ट्रम्प पहिलोपटक चीन पुगेका हुन्। यसले उनको अन्तर्राष्ट्रिय कूटनीतिक रणनीतिलाई पनि चासोका साथ हेरिएको छ।
यसैबीच, ट्रम्पले फिलिपिन्सको मनिलामा पत्रकारहरूसँग कुरा गर्दै उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेट हुन सक्ने सम्भावनासमेत खुलाएका थिए। तर दुई नेताबीच भेट हुनेबारे अहिलेसम्म औपचारिक कार्यक्रम सार्वजनिक भएको छैन।
अब शेन्जेनमा हुने ट्रम्प–सी–पुटिन बैठकले विश्वका प्रमुख शक्तिराष्ट्रबीचको सम्बन्ध, युद्ध र शान्तिका प्रयास तथा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।