काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका मुकुल र निशाले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन्। निकटस्थहरूलाई उनीहरूको प्रेम सम्बन्धबारे जानकारी भए पनि दुवैले यसलाई गोप्य राख्दै आएका थिए। अहिले भने उनीहरू विवाह गरेर औपचारिक रूपमा दाम्पत्य जीवनमा प्रवेश गर्न लागेका हुन्। उनीहरूको टीकाटालोसमेत भइसकेको छ।
विवाहका लागि मुकुल बुधबार काठमाडौंँबाट झापा जाने तयारीमा छन्। उनले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित निशाको घर पुग्ने कार्यक्रम रहेको छ।
विमानस्थलमा रहेका मुकुलले फोन सम्पर्कमा आफ्नो विवाह हुन लागेको पुष्टि गरेका छन्। राजनीतिमा सँगै जोडिएका मुकुल र निशाको विवाहको खबरले रास्वपाभित्र र राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ।