दानबहादुरलाई तत्काल राहत दिन सर्वोच्चको अस्वीकार, सोमबार फेरि सुनुवाइ

दानबहादुरलाई तत्काल राहत दिन सर्वोच्चको अस्वीकार, सोमबार फेरि सुनुवाइ
32

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई तत्काल पदमा फर्काउने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। पुनर्बहालीको माग गर्दै कार्कीले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल राहत नदिई सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई आईजीपी पदमा पुनर्बहाली नगर्नुपर्ने कारण भए लिखित जवाफ पेस गर्न विपक्षी सरकारलाई आदेश दिएको छ। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

कार्कीका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले निश्चित कार्यकाल बाँकी रहँदै कुनै कारण र स्पष्टीकरणबिनै उनलाई पदबाट हटाउनु गैरकानुनी भएको जिकिर गरेका थिए। उनीहरूले तत्काल अन्तरिम आदेश जारी गरी कार्कीलाई पुनः काममा फर्काउन माग गरेका थिए।

कार्की पक्षका कानुन व्यवसायीले प्रहरी महानिरीक्षकको निश्चित कार्यकाल हुने भएकाले सरकारले मनोमानी ढंगले हटाउन नमिल्ने तर्कसमेत गरेका थिए। त्यसका लागि पूर्वआईजीपी अच्युतकृष्ण खरेल र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको मुद्दामा स्थापित नजिरसमेत प्रस्तुत गरिएको थियो।

यसैबीच, सर्वोच्चले अन्तरिम आदेशबारे थप छलफलका लागि आगामी सोमबार (मंसिर ७ गते) दुवै पक्षलाई बोलाएको छ। अदालतले कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने तथा नयाँ आईजीपी नियुक्त गर्ने निर्णयसँग सम्बन्धित प्रमाणित कागजातसमेत पेस गर्न आदेश दिएको छ। रिटलाई अग्राधिकारसमेत दिइएको छ।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो। सोही बैठकले एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

सरकारको निर्णय गैरकानुनी भएको दाबीसहित कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। अब सोमबार हुने छलफलपछि मात्रै उनलाई अन्तरिम आदेशमार्फत पुनर्बहाली गर्ने वा नगर्ने विषयमा अदालतले निर्णय गर्नेछ।

Related Post