काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाको आग्रहमा कुलमान घिसिङ आफ्नो प्राविधिक टोलीसहित घटनास्थल पुगेका छन्। उद्धार कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सेनाको टोलीसँग छलफल गर्न घिसिङ चिलिमे पुगेका हुन्।
घिसिङको टोलीले नेपाली सेनासँग सुरुङभित्रको उद्धार कार्य अघि बढाउने विषयमा आवश्यक छलफल गरिसकेको छ। छलफलपछि टोली कार्यस्थलमा परिचालित भएको घिसिङले बताएका छन्।
चिलिमे आयोजनामा चार वर्ष प्रत्यक्ष रूपमा काम गरेको तथा नेपाल विद्युत् प्राधिकरणमा रहँदा थप आठदेखि नौ वर्ष सो क्षेत्रसँग सम्बन्धित भएर काम गरेको अनुभव घिसिङसँग छ। सुरुङको भौगोलिक बनावटबारेको अनुभवका कारण सेनाले उनलाई प्राविधिक सहयोगका लागि बोलाएको हो।
हाल सुरुङभित्र म्यानुअल रूपमा उद्धार भइरहेको छ। उद्धारलाई तीव्र बनाउन एक्स्काभेटर प्रयोग गर्ने निर्णय भएको र त्यसलाई सुरुङभित्र लैजाने तयारी भइरहेको छ। आज बेलुका वा भोलि बिहानसम्म एक्स्काभेटर सुरुङभित्र पुर्याएर उद्धार अघि बढाउने तयारी छ।
घिसिङसहितको प्राविधिक टोली भोलिसम्म घटनास्थलमै रहेर नेपाली सेनासँग समन्वय गर्नेछ।