भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गर्न गगन थापाको माग

भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गर्न गगन थापाको माग
50

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ गते जेनजी युवाको शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरू तथा भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा आगजनी र ध्वंस गर्नेहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। बीपी स्मृति दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गरे पनि त्यस दिन ज्यान गुमाएका र घाइते भएका युवाको पीडा आफ्नो व्यक्तिगत पीडाभन्दा ठूलो रहेको बताए।

थापाका अनुसार भदौ २३ गते जेनजी युवाहरूले आफ्नो आक्रोश र असन्तुष्टि शान्तिपूर्ण रूपमा व्यक्त गरेका थिए। तर, उक्त आन्दोलनमाथि राज्यबाट चरम दमन भएको र आन्दोलनभित्र घुसपैठ गरी हिंसा भड्काउने कामसमेत भएको उनले बताए। दमन गर्ने सुरक्षाकर्मी र हिंसा भड्काउनेहरूको पहिचान गरी कारबाही गर्नुपर्ने उनको माग छ।

त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गते भने आवेग र आक्रोशलाई प्रयोग गरेर ठूलो हिंसा र ध्वंस गराइएको थापाको दाबी छ। उनका अनुसार त्यस दिन सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भयो। यस्तो ध्वंसका लागि योजना बनाउने, उक्साउने र प्रत्यक्ष रूपमा अपराधमा संलग्न सबैको पहिचान गरी कारबाही गर्नुपर्ने उनले बताए।

थापाले आफ्नो घर पनि भदौ २४ गते जलेको बताए। तर, आफू र आफूजस्ता व्यक्तिको घर जलेको पीडाभन्दा ज्यान गुमाएका र घाइते भएका युवाका परिवारको पीडा ठूलो रहेको उनले बताए।

उनले भने, “आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ।”

भदौ २४ को घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता सरकारले जनाएको स्मरण गराउँदै थापाले अनुसन्धान कहाँ पुगेको भन्दै प्रश्न गरेका छन्। साथै, भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरेका छन्।

थापाले भदौ २३ गते भएको दमन र हिंसा तथा भदौ २४ गते भएको आगजनी, तोडफोड र ध्वंस—दुवै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। भदौ २४ गते ठूलो क्षति हुँदा राज्य संयन्त्र कसरी प्रभावहीन भयो भन्ने विषयमा समेत छानबिन आवश्यक रहेको उनको भनाइ छ।

उनले दुवै दिनका घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गरे मात्रै राज्य जवाफदेही बन्न सक्ने र दण्डहीनता अन्त्य गर्न सकिने बताए।

Related Post