काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद र घाइतेका परिवारले न्याय तथा सरकारको साथ कहिले पाउने भन्दै प्रधानमन्त्री बालेन शाहसँग प्रश्न गरेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सहिदको न्याय र पीडित परिवारसँग सरकारको प्रत्यक्ष सम्पर्कबारे प्रश्न उठाएकी हुन्।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भए पनि सहिद परिवारले न्याय पाउने विषय अझै टुंगिन नसकेको भन्दै खत्रीले सरकारको ध्यानाकर्षण गराइन्। उनले सहिद तथा घाइतेका परिवारलाई भेट्न सरकारलाई अझै कति समय लाग्ने हो भन्ने प्रश्नसमेत गरिन्।
प्रधानमन्त्री शाहलाई लक्ष्य गर्दै उनले भनिन्, “सहिदले न्याय कति वर्षमा पाउँछन् सरकार? सहिद परिवार र घाइते परिवारलाई भेट्न अब कति वर्ष लाग्छ?”
खत्रीले जेनजी आन्दोलनको एक वर्ष पुगेपछि मात्रै प्रधानमन्त्रीबाट सहिदप्रति श्रद्धाञ्जली व्यक्त भएको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाइन्।
सांसद खत्री जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा हुन्।