काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उनीनिकट केही व्यक्तिका घरमा छापा मारेको छ ।
बुधबार विभागको टोलीले जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना, नारायण दाहाललगायतका व्यक्तिका घरमा एकैपटक छापा मारेको जनाइएको छ । जबराका केही आफन्तको घरमा समेत टोली पुगेको स्रोतले जनाएको छ ।
छापाका क्रममा महत्त्वपूर्ण कागजात तथा अन्य सामग्री नियन्त्रणमा लिइएको स्रोतको दाबी छ । जबरासँग निकट सम्बन्ध रहेका व्यक्तिहरूमाथि भइरहेको अनुसन्धानकै क्रममा विभागले विभिन्न स्थानमा एकैपटक छापा मारेको बताइएको छ ।
यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति उनकै निवासबाट नियन्त्रणमा लिएको थियो । करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई छाडिएको थियो ।
जबरासँग सम्बन्धित अनुसन्धानका क्रममा इनम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सापकोटासँगको सम्पर्क तथा कुराकानीका विषयमा समेत अनुसन्धान अघि बढिरहेको जनाइएको छ ।