काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पारित गरेको छ।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा पछिल्लो राजनीतिक अवस्था, लोकतान्त्रिक संस्कृतिमा देखिँदै गएको क्षयलगायत समसामयिक विषय समेटिएका छन्। बन्दसत्रले छलफलपछि उक्त प्रस्ताव पारित गरेको हो।
प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रका विषयलाई खुला रूपमा प्रस्तुत गर्नु आफैंमा महत्वपूर्ण र ऐतिहासिक भएको बताए। उनले पार्टीले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए। महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्र केन्द्रित नभई पार्टीको लोकतान्त्रिक मूल्य र संस्कृतिलाई बलियो बनाउनतर्फ ध्यान दिन प्रतिनिधिहरूलाई आग्रह गरे।
उनले कांग्रेसभित्र लोकतान्त्रिक संस्कारलाई थप सुदृढ गर्दै जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे।