काठमाडौँ । जलवायु परिवर्तनका चुनौती सामना गर्दै काठमाडौँलाई वातावरणमैत्री र उत्थानशील सहर बनाउने लक्ष्यसहित ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको सप्ताहव्यापी अभियानमा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन र वातावरण संरक्षणका विषयलाई प्राथमिकता दिइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनबारे छलफल र बहस गरेर मात्रै समस्या समाधान नहुने बताइन् । उनले जलवायुजन्य जोखिम सामना गर्न नीतिगत निर्णयसँगै व्यवहारिक काम र सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।
डंगोलले सप्ताहका क्रममा तत्काल कार्यान्वयन गर्न सकिने योजनालाई प्राथमिकता दिइने उल्लेख गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरणका प्रयासलाई परिणाममुखी बनाउनुपर्ने धारणा राखिन् ।
सप्ताहको पहिलो दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ शुभारम्भ गरिएको छ । यससँगै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा संवाद र स्थानीय तहका जनप्रतिनिधिबीच अनुभव आदानप्रदानका कार्यक्रमसमेत सञ्चालन भएका छन् ।
महानगरपालिकाका अनुसार दोस्रो दिन जलवायु वित्त, जलवायु अनुकूलन र उत्थानशील पूर्वाधार निर्माणका विषयमा विज्ञहरूसँग छलफल हुनेछ । तेस्रो दिन नागरिक विज्ञान, सम्पदा संरक्षण र जलवायु परिवर्तनले पारेका प्रभावबारे विमर्श गरिनेछ ।
सप्ताहअन्तर्गत परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनःभरण, पानीको गुणस्तर परीक्षण तथा ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रालगायत गतिविधि पनि सञ्चालन गरिनेछन् ।
महानगरपालिकाले यी कार्यक्रममार्फत काठमाडौँ उपत्यकालाई जलवायु परिवर्तनका जोखिमसँग जुध्न सक्ने, समावेशी, स्वस्थ र बस्नयोग्य सहरका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
जलवायु परिवर्तनका चुनौतीलाई बहसमा मात्रै सीमित नराखी विज्ञानमा आधारित योजना र समुदायको प्रत्यक्ष सहभागितामार्फत व्यवहारमै उतार्नु यस सप्ताहको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ ।