काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ तत्कालका लागि रोकिएको छ । सर्वोच्च अदालतले नवनियुक्त आईजीपी मनोजकुमार केसीलाई अदालतको म्याद तामेल भएको प्रमाण र सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णयको सक्कल फाइल माग गरेपछि मुद्दाको सुनुवाइ अघि बढ्न नसकेको हो ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा कार्कीको रिटमाथि पेसी तोकिएको थियो । तर, केसीलाई अदालतको म्याद विधिवत् रूपमा बुझाइएको प्रमाण इजलाससमक्ष पेस हुन नसकेपछि सुनुवाइ हुन सकेन ।
म्याद तामेलीको प्रक्रिया पूरा नभएसम्म अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न नसकिने भएपछि अदालतले आवश्यक प्रक्रिया पूरा गरेर मात्रै अर्को चरणमा अघि बढ्ने संकेत गरेको छ ।
अब सर्वप्रथम नवनियुक्त आईजीपी केसीलाई अदालतको म्याद विधिवत् रूपमा तामेल गर्नुपर्नेछ । त्यसको प्रमाण सर्वोच्चमा पेस भएपछि सरकारले अदालतको आदेशअनुसार १५ दिनभित्र लिखित जवाफ बुझाउनुपर्नेछ । महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस हुने जवाफमा कार्कीलाई आईजीपीबाट हटाएर केसीलाई नियुक्त गर्नुको कानुनी आधार र कारण खुलाउनुपर्नेछ ।
यसैगरी, प्रधानमन्त्री कार्यालयले मनोज केसीलाई आईजीपी नियुक्त गर्ने र दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिने निर्णयसम्बन्धी सक्कल फाइलसमेत अर्को पेसीमा अदालतमा बुझाउनुपर्नेछ ।
उक्त कागजात र सरकारी जवाफ प्राप्त भएपछि सर्वोच्चले दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेर कार्कीले माग गरेको अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।
अन्तरिम आदेश जारी भएमा मुद्दाको अन्तिम फैसला नआएसम्म सरकारको विवादित निर्णय कार्यान्वयनमा प्रभाव पर्न सक्नेछ । आदेश जारी नभएमा भने तत्कालका लागि सरकारले गरेको निर्णय यथावत् रहनेछ । यद्यपि, अन्तरिम आदेश नआउँदैमा कार्कीको रिट खारेज भएको वा विवादको अन्तिम टुङ्गो लागेको मानिने छैन ।
अन्ततः आईजीपी नियुक्तिसम्बन्धी विवादको कानुनी निरूपण भने सर्वोच्च अदालतको अन्तिम फैसलाबाट मात्रै हुनेछ । त्यसअघि अदालतको प्रारम्भिक परीक्षणले सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा रोक लगाउनुपर्ने अवस्था छ वा छैन भन्ने निर्धारण गर्नेछ ।